‘कोभिडमा पनि अर्थतन्त्रका सूचक सकारात्मक छन्’

 ‘कोभिडमा पनि अर्थतन्त्रका सूचक सकारात्मक छन्’

२३ भदौं, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरस (कोभिड–१९) को बेला पनि अर्थतन्त्रका सूचकहरु सकारात्मक नै देखिएको बताएका छन् । मंगलबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँगको छलफलका क्रममा गभर्नर अधिकारीले कोभिड–१९ को संक्रमणको अवधिमा समेत मुलुकको समष्टिगत आर्थिक स्थायित्वसंग संवन्धित परिसूचकहरु सकारात्मक रहेको बताएका हुन् ।

उनले निर्यातको स्थिरता रहनुका साथै आयातमा भएको व्यवस्थापनसाथै चालू खाता घाटामा उल्लेख्य सुधार भएको बताए । शोधनान्तर स्थिति २ खर्ब ८२ अर्बले बचतमा रहेको र विदेशी विनिमय सञ्चिति१४ खर्बभन्दा माथि रहनुले आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्न सक्ने अवस्था रहेको उनले बताए ।

गत भदौ २१ सम्म ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा कुल ३,९३८ अर्ब निक्षेप र ती संस्थाबाट रु.३,२५५ अर्ब कर्जा प्रवाह भएको जानकारी गभर्नर अधिकारीले जानकारी दिए । उनले पछिल्लो समय कर्जा स्रोत परिचालन अनुपात ७२ प्रतिशत रहनुले लगानीका लागि पर्याप्त साधन उपलव्ध भएको तथा बैकिंग क्षेत्रको पुँजी पर्याप्तता अनुपात १५ प्रतिशत रहेको जानकारी दिए ।

खराब कर्जा अनुपात १.८ प्रतिशत रहेका कारण वित्तीय क्षत्र स्थायित्व कायम रहेको भएतापनि कोभिड संक्रमणका कारण वित्तीय क्षेत्रमा परेको दवावलाई यथार्थरुपमा परिसूचकमा प्रतिविम्वित गर्ने जिम्मेवारी बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारीहरुमा रहेको उनले बताए ।

गभर्नर अधिकारीले केही महिनादेखि करिब दुई खर्बको हाराहारीमा रहेको तरलतालाई अवसरका रुपमा लिन बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुलाई आग्रह गरे ।

उनले अहिलेको कठिन परिस्थितिमा आफ्नो कर्जा स्रोतको व्यवस्थापन संयमित एवम् जिम्मेवारपूर्ण ढंगले गर्ने र कर्जा खोसाखोसको अस्वस्थ प्रतिस्पर्धा मार्फत नाफा केन्द्रित हुने भन्दा पनि आपूm पनि व्यवसायमा टिक्ने र अरुलाई पनि टिकाउने विषयमा सचेत रहन निर्देशन दिएका थिए ।

बैंक तथा वित्तीय संस्थाहरुसँग अधिक तरलता रहेको र यस्लाई समस्या भन्दा पनि सहजताको सूचकको रुपमा लिनुपर्ने कुरामा जोड दिदै तरलता बढेको अवस्थामा कर्जा दुरुपयोग हुनसक्नेतर्फ संकेत गर्दै गभर्नर अधिकारीले यस विषयमा सजग रहनु पर्ने विचार व्यक्त गरेका थिए ।

पुनरकर्जाको लागि आवेदन लिन बैंक तथा वित्तीय संस्थाहरुले आनाकानी गरिरहेको गुनासो प्राप्त भएको उल्लेख गर्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले जारी गरेका नीतिगत व्यवस्थाप्रति जिम्मेवार रहन समेत संवन्धित सवैलाई आग्रह गरे ।

सो अवसरमा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहाल, डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्दप्रसाद ढकाल र नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले कोभिड–१९ को महामारीबाट वित्तीय क्षेत्र पनि प्रभावित भएको उल्लेख गर्दै वित्तीय संस्थालाई बचाउन राष्ट्र बैंकले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिबराज श्रेष्ठलगायत बैंकका विभिन्न विभागका प्रमुखहरु समेत सहभागी थिए ।

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Online Khabar

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया