दुग्ध क्षेत्रमा २० अर्बको नोक्सानी

 दुग्ध क्षेत्रमा २० अर्बको नोक्सानी

काठमाडौं । कोभिड–१९ को महामारीले गरेको लकडानका कारण डेरी तथा उद्योग क्षेत्रमा करिब २० अर्बको नोक्सानी भएको छ । लकडाउनका कारण दुग्ध क्षेत्रको ६० प्रतिशत बजार गुमेको उद्योगी व्यवसायीले २० अर्बको नोक्सानी बेहोर्नुपरेको हो । गत ११ चैतदेखि हालसम्म दुग्ध क्षेत्रको ६० प्रतिशत बजार गुम्दा २० अर्ब रुपैयाँ बढी नोक्सानी भएको उद्योगी व्यवसायीले बताए ।

एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)ले आयोजना गरेको भर्चुअल अन्तत्र्रिmया कार्यक्रममा व्यवसायीले सो कुरा बताएका हुन् । बाग्मती प्रदेशका भूमि, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले कोरोना महामारीका कारण डेरी क्षेत्रमासँगै किसानलाई पनि निकै समस्या भएको बताए । उनले दुग्ध क्षेत्रको उद्योगी र किसानसम्मको समस्या समाधानतर्फ जानुपर्ने बताए ।

केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कोरोना महामारीका कारण किसानको दुधमा ३० प्रतिशत ह्रास आएको बताए । उनले भने, ‘देशभरि सहकारीमा ६ लाख लिटर दुध संकलन हुन्छ, त्यसमा अहिले ३० प्रतिशत कमी आएको छ । यसले गर्दा किसानलाई ठूलो समस्या भएको छ, । किसानले डेरी उद्योगीबाट चार महिनादेखि भुक्तानी नपाएको गुनासो छ भने अर्काेतिर किसानको दूध बिक्री भइरहेको छैन । बिक्री भएको दुधको भुक्तानी नपाइरहेको अवस्थामा किसान साह्रै मर्कामा परेका छन् । तर, सरकारले भने कुनै ध्यान नदिएको छैन ।

उनले भने, ‘डेरी उद्योग पूर्ण रूपमा सञ्चालनमा छन् तर उद्योगीले किसानको दूध खरिद नगरेको गुनासो किसानको छ । अहिले किसानको दूध लिएर पाउडर बनाएर राख्दा पनि हुन्छ । तर उद्योगीहरूले त्यस्तो नगरेर किसानको दूध उठाउन छोडेको अध्यक्ष देवकोटाले बताए ।

उनले सरकारले आत्मनिर्भरको कुरा गर्छन् तर त्योअनुसारको सुविधान नदिएको गुनासो बताए । नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले कोरोनाका कारण डेरी उद्योगका ६० प्रतिशत बजार समाप्त भएको बताए । यसले गर्दा यो क्षेत्रले २० अर्बको नोक्सान बेहोरिसकेको बताए । उनले कोरोनाका कारण अर्बौको नोक्सान भए पनि डेरी उद्योग जसोतसो सेवा दिइरहेको बताए । डेरी उद्योगसँगै किसानको पनि निकै नोक्सान भएको बताए । महासचिव दाहालका अनुसार दैनिक ६२ लाख दुध उत्पादन हुन्छ । तर, ३१ लाख दूध मात्र बजारमा जान्छ । बाँकी किसानले आफंै उपभोग गर्ने गरेका छन् । महासचिव दाहालले भने, ‘डेरी क्षेत्र नै यस्तो क्षेत्र हो जसले कृषिका हरेक क्षेत्रलाई समेटेको छ । तर, सरकारले यस क्षेत्रमाथि ध्यान दिएको छैन । कोरोना महामारीमा अत्यावश्यक वस्तुको रूपमा डेरी क्षेत्रलाई राखिएको छ तर, ढुवानी तथा उद्योग सञ्चालनको क्रममा प्रहरीले अनावश्यक दुःख दिने दिएको छ । दुध ढुवानी गर्दा गाडी तथा मोटर साइकललाई जथाभावी रोकेर २÷ ३ घण्टा होल्ड गरेर दुःख दिने गरेका छन् । डेरी क्षेत्रलाई सहज रूपमा काम गर्न दिन सरकारले सहज अवस्था बनाउनुपर्ने उनको भनाइ छ ।

दूध विकास संस्थानका सञ्चालक समितिका सदस्य शितलकाजी श्रेष्ठले दूध क्षेत्रमा उत्पादनको समस्या नभएको बताए । उनले तर बिक्री वितरणमा समस्या भएको कारणले डीडीसी घाटामा गइरहेको बताए । दैनिक दूध संकलनमा ३० देखि ४० रुपैयाँ घाटा भइरहेको श्रेष्ठले बताए । उत्पादन भए पनि बिक्री नभएको कारण भण्डारण तथा व्यवस्थापनमा समेत समस्या आएको उनले बताए । घिउ, बटर, चिज उत्पादन गरेर भण्डार भइरहेको छ तर त्यसलाई कसरी बेच्ने भन्ने समस्या भइरहेको श्रेष्ठको भनाइ छ ।

बाग्मती प्रदेशका भूमि, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले किसानले उत्पादन गरेको दूधले बजार नहुँदा ठूलो नक्सानी भएको बताए । मन्त्री लामाले त्यसबारे सरकार तथा निजी क्षेत्र मिलेर छलफल गरी समाधान गर्नुपर्ने बताए ।
मन्त्री लामाले भने, ‘कोरोनाका कारण अहिले सबै क्षेत्रमा समस्या छ । तर, यसमा सबैभन्दा बढी समस्यामा किसान रहेका छन् । यसको समाधान दुग्ध क्षेत्रका उद्योगीले पनि समाधान गर्नुपर्नेतर्फ हाम्रो ध्यान गएको छ । मन्त्री लामाले किसान मर्कामा परेका छन्, त्यसका लागि प्रदेश सरकारले सहयोग गर्ने तयारी गरिरहेको बताए । मन्त्री लामाले डेरी तथा दूध क्षेत्रको समस्याको बारेमा आफूले संघीय कृषि तथा पशुपन्क्षी विकासमन्त्रीसँग पनि छलफल गर्ने र समाधानका लागि प्रयास गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Rajdhani Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया