नेप्से सूचक ६ महिनायताकै उच्च बिन्दुमा

 नेप्से सूचक ६ महिनायताकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक पछिल्लो ६ महिनाकै उच्च बिन्दुमा पुगेको छ । साताको चौथो दिन नेप्से सूचक २५ दशमलव ५८ अंकले बढेर १ हजार ५ सय १० को बिन्दु पार गरेको हो ।

नेप्से सूचकले ६ महिनापछि १५ सय अंकलाई छोएको छ । यसअघि मार्च ३ मा बजार १ हजार ५ सय १ अंकमा पुगेको थियो । त्यसयता निरन्तर बजार घटिरहेको थियो । लकडाउनको अधिकांश समयबजार बन्द नै रहेको थियो । बुधबार १सय८६ कम्पनीको ४ अर्ब १८ करोड १० लाख ३६ हजार १सय १५ रुपैयाँबराबरका ९६ लाख ८६ हजार ९ कित्ता सेयर कारोबार भएका छन् ।

सरकारले कोरोना जोखिम बढ्दै गएपछि गत ३ भदौदेखि लागू हुने निषेधाज्ञा लगाएको छ र यो हालसम्म जारी नै छ । सम्पूर्ण आर्थिक गतिविधि बन्द रहँदा सेयर बजारमा भने कारोबार जारी रहेको छ । अन्य उद्योगधन्दा पूर्णरूपमा सञ्चालन हुन नसकेकाले पनि साना–ठूला सबैथरी लगानीकर्ताको ध्यान सेयर बजारतर्फ मोडिएको अनुमान जानकारको रहेको छ । सेयर बजार विस्तार हुनुमा वित्तीय प्रणालीमा रहेको अधिक तरलतालाई प्रमुख कारण मानिएको छ ।

बजारमा केही समय यतादेखि उत्साह थपिनेक्रम जारी रहेको छ । पछिल्ला दिनमा कारोबार रकममा निकै उत्साह थपिएको छ । कारोबार रकम र सूचक दुवै सकारात्मक बन्दा आमलगानीकर्ता उत्साहित भएका छन् र हुनु स्वभाविक पनि हो । बजारमा नयाँ माहोल सिर्जना हुँदा धेरैजसो समूह सकारात्मक बन्ने प्रवृत्ति देखिएको छ । कोरोना संक्रमणबीचमा पनि बजारमा उत्साहपूर्ण सुधार आउनुले लगानीकर्ताको मनोबल वृद्धि भइरहेको छ ।

गत फेब्रअरी ३ बाट उकालो लाग्न थालेको सेयर बजार त्यसबेला १ हजार ३ सय ४२ अंकबाट बढ्न थालेको बजार मार्च १ सम्म आउँदा १ हजार ६ सय २० अंकमा पुगेको थियो । त्यसको दुई दिनमै घटेर १ हजार ५ सय १ अंकमा आएको थियो । त्यसपछि निरन्तर घटेको बजारले १ हजार १सय७८ अंकमा पुगेको थियो । त्यसयतापहिलोपटक बुधबारको कारोबारमा १ हजार ५ सय १९ अंकसम्म सूचक कारोबार बन्द हुने बेलासम्म आइपुग्दा १ हजार ५ सय १० अंकमा पुगेर कारोबार बन्द भएको छ ।

यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनी र बैंक तथा वित्तीय संस्थामा लगानीकर्ता झुम्मिएका छन् । नेपाल रिइन्स्योरेन्सको सेयर कारोबार सर्वाधिक भइरहेको छ । यो कम्पनीको ६८ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

बजार निरन्तर बढेर अन्य समूहका सेयर मूल्य उक्लिएपछि लगानीकर्ताको आकर्षण जलविद्युत् कम्पनीतर्फ पनि गएको देखिन्छ । यस दिन कारोबारमा आएका १२ वटा उपसमूहमध्ये जलविद्युत् समूह सर्वाधिक ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

कतिपय जलविद्युत् कम्पनीको सेयर मूल्य १सय रुपैयाँभन्दा पनि निक्कै कम छ । अंकित मूल्यभन्दा कम मूल्य रहेका जलविद्युत् कम्पनीको पनि समग्र सेयर बजार बढ्दा मूल्य बढ्ने अपेक्षामा लगानीकर्ता त्यसतर्फ आकर्षित भएको लगानीकर्ताको बुझाइ रहेको छ । बुधबार सर्वाधिक कमाउने १० कम्पनीमध्ये नौवटा जलविद्युत छन् । ती नौवटै जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेकर नै लागेको छ ।

नेप्सेका अनुसार, पाँचथर पावर, ङादी ग्रुप पावर, जोशी हाइड्रो, अरुण भ्याली, राधी विद्युत्, अपी, रिडी हाइड्रो, युनियन हाइड्रो र चिलिमेको सेयर मूल्य १० प्रतिशतले बढेको छ । चिलिमेको पनि ९ दशमलव ९८ प्रतिशतले बढेको भएपनि १ रुपैयाँ मात्र बढ्दा पनि १० प्रतिशतभन्दा माथिको आँकडा पार गर्ने भएकाले सोही बिन्दुमै सर्किट ब्रेकर लागेको हो ।

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Rajdhani Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया