पर्सामा कोरोनाबाट ८ घण्टाभित्र ३ को मृत्यु, १ जनामा ‘क्रिटिकल कोभिड’

 पर्सामा कोरोनाबाट ८ घण्टाभित्र ३ को मृत्यु, १ जनामा ‘क्रिटिकल कोभिड’

वीरगन्ज । पर्साको वीरगन्जमा ८ घण्टाको अन्तरमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने १ महिला र २ पुरुष रहेका छन् । मृतक मध्ये २ जना वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का हुन् ।

अर्का ३७ बर्षका पुरुष भने वीरगन्ज महानगरपालिकाकै वडा नम्बर २५ मनियारीका भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश कुमार चौरसियाले बताए । मृतकहरु मध्ये शुक्रबार साँझ साढे ५ बजे वीरगन्ज १२ मुर्लीकी ६५ बर्षीया महिलाको मृत्यु भयो । लगत्तै राति वीरगन्ज १२ कै ४३ पुरुषको ११ बजेर ५५ मिनेटमा मृत्यु भयो । त्यसको केही घण्टा बित्न नपाउँदै महानगरकै २२ नम्बर वडाको मनियारीका ३७ बर्षीय अर्का पुरुषको पनि मृत्यु भएको डा चौरसियाले बताए । उनी सम्बन्धमा पर्सा १ बाट निर्वाचित सांसद प्रदिप यादवको भाइ पर्छन् । मृतकहरु मध्ये सबैजनाको स्वाव परीक्षणको रिपोर्ट शुक्रबार नै पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ ।

२ जनामा पुरानो रोग, १ जनामा ‘क्रिटिकल कोभिड’
मृतकहरुमध्ये महिलालाई श्वास प्रश्वासमा केही समस्या भएपछि हिजो दिउसो नारायणी अस्पतालमा उपचारका लागी ल्याएको थियो । हाइपरटेन्शनको दीर्घ रोग पनि भएकी ती महिलाको उपचारका क्रममा नारायणी अस्पतालमा नै मृत्यु भएको उनले बताए । महिलाको भने अबेर राति रिपोर्ट पोजेटिभ आएको डा चौरसियाले भने ।

अर्का ४३ बर्षीय पुरुषमा हेपाटाइटिस वी र एचआइभी रोग पहिलेदेखि नै रहेको खुलेको छ । उनलाई नेशनल मेडिकल कलेजबाट संक्रमण पुष्टि भएपछि अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयर पठाएकोमा पछि त्यहि मृत्यु भएको डा चौररियाले बताए ।

त्यसै गरी मनियारीका अर्का पुरुषमा भने क्रिटिकल कोभिड संक्रमण रहेको र उनलाई संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा पठाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लाँदै गर्दा बाटोमा नै मृत्यु भएको डा चौरसियाको भनाइ छ ।

पर्सामा मात्र कुल मृतकको संख्या ३६ पुग्यो
पर्सामा गएराती मृत्यु भएका मृतकहरु सहित कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३६ पुगेको छ । मृतकमध्ये एक जना भने वेवारिस शव फेला परेका अन्दाजी २४ बर्षीय पुरुष थिए । यो बाहेक अन्यको भने स्थानीय पर्साका नै हुन् ।

उता बाराका पनि वीरगन्जमा उपचारका लागि ल्याएका मध्ये १० जनाको उपचारका क्रममा नै ज्यान गइसकेको छ । त्यसै गरी रौतहटका पनि २ जनाको वीरगन्जमा उपचारका क्रममा नै ज्यान गएको नारायणी अस्पतालले जनाएको छ । यी सबै जोड्ने हो भने वीरगन्जका अस्पतालमा उपचारका क्रममा कुल संक्रमितको संख्या ४८ पुगिसकेको छ ।

Disclaimer: This story is auto-aggregated by a computer program and has not been created or edited by Kalaiya Online. Publisher: Rajdhani Daily

सम्बन्धित समाचार

तपाइको प्रतिक्रिया